चितवन— पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ। आगोका कारण रिसोर्टको मुख्य भवन जलेर पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
काठ र माटोको प्रयोग गरी निर्माण गरिएको रिसोर्टमा विद्युत सट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट खटिएका दुई दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
भौतिक क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।
‘र्याम्ड अर्थ’ प्रविधिमा निर्माण गरिएको उक्त रिसोर्टका सञ्चालक सन्तोष धिताल हुन्। विदेशबाट फर्किएर उनले नौ वर्ष लगाएर तयार पारेको रिसोर्ट डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको थियो। टायल वा मार्बल प्रयोग नगरी निर्माण गरिएको सो रिसोर्टमा काठबाट बनेका भिल्ला, काईट हाउस र कार्ट हाउस रहेका थिए।
स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको रिसोर्ट आगलागीपछि पूर्ण रूपमा क्षति भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।