हेटौँडा— हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फछ्र्योट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो ।
स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।
समितिमा आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका २४७ वटा उजुरी र पुराना ४४ वटा गरी २९१ उजुरीमध्ये १४३ वटा फछ्र्योट भएका उपप्रमुख बानियाँले बताए। समितिले ४५ वटा उजुरीको निरुपण अदालतबाट हुनुपर्ने राय दिइएको, नौवटा उजुरी अन्य न्यायिक निकायमा पठाइएको, २० वटा उजुरी निष्क्रिय भएको र १२ वटा निवेदन फिर्ता भएका छन् ।
उपमहानगरपालिकामा आव २०७४/७५ देखि नै न्यायिक समिति गठन भएको हो । त्यसयता दर्ता भएका एक हजार २५४ उजुरीमध्ये ७४३ वटा फछ्र्योट भएका छन् ।