काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टोखा नगरपालिका–८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका–२ का ४२ वर्षीय हेम बहादुर तामाङ, टोखा नगरपालिका–१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका–२ की ३५ वर्षीया ईश्वरी थापा र चन्द्रागिरी नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ की ६१ वर्षीया मैया देवी उप्रेती छन्।

हेम बहादुरले सिंगापुर पठाइदिन्छु भन्दै दुई जनाबाट २ लाख ७० हजार रुपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ५० हजार रुपैयाँ र मैया देवीले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले हेम बहादुरलाई शुक्रबार टोखा–८ बाट, ईश्वरीलाई शनिबार टोखा–१० बाट र मैया देवीलाई आइतबार चन्द्रागिरी–५ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ईश्वरीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र हेम बहादुर तथा मैया देवीलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।