धादिङ— काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको एक ट्याक्सी सीतापाइला–धार्के सडकखण्डमा सोमबार बिहान दुर्घटनामा परेको छ।

बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका–५ स्थित कुमाइखोलाको धार्के–सीतापाइला सडकखण्डमा अनियन्त्रित भई करिब ५ मिटर तल खस्दा चालकसहित ६ जना यात्रु घाइते भएका छन्।

ट्याक्सी आफैं अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने बाँकी चार जना सामान्य घाइते भएका छन्।

घाइतेहरूमा सोलुखुम्बु जिल्लाको दूधकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीया जस्मिन खड्का, र ७ वर्षीया जेसिका गुरुङ रहेका छन्।

ट्याक्सी चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल पनि दुर्घटनामा घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको प्रहरीले जानकारी दिएको छ।