पोखरा । पोखराको लेकसाइड क्षेत्रमा गैरकानुनी रुपमा विदेशी मुद्रा सटही कारोबार गर्दै आएका तीन जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–१७ पार्दी बिरौटाबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ । उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा महुमुद्दिन एम अहमद वर्ष ४५ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् । उनी रुपन्देही र कास्कीमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए ।

यसैगरी राजकुमार बुढाथोकी वर्ष ४५ मा झापा दमक–४ का स्थायी बासिन्दा, हाल पोखरा–६, बैदाममा बसोबास गर्दै ‘हिलारी मनी चेन्जर’ सञ्चालन गर्दै आएका थिए । उनले करिब २० वर्षदेखि मनी एक्सचेन्जको आडमा अवैध सटही गर्दै आएको कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

यसैगरी खेमराज पौडेल वर्ष ४३ का कास्कीको पोखरा–१९, पुरनचौर बसोबास गर्ने  उनी लेकसाइडस्थित ‘सगरमाथा मनी चेन्जर’का सञ्चालक हुन् । उनले १४ वर्षदेखि यो कारोबार गर्दै आएको खुलेको छ ।

छापामारीको क्रममा प्रहरीले ठूलो मात्रामा विदेशी र नेपाली नोट समेत बरामद गरेको छ । प्रहरीका अनुसार बरामद भएका मुद्राहरू यस प्रकार छन ः 

अमेरिकी डलर – १०० दरका १९६ थान,  युरो ५०० दरका ३ थान,  युरो २०० दरको नोट ८ थान, युरो १०० दरको नोट १ थान बरामद गरेको् छ ।

यसैगरी नेपाली रुपैयाँ १००० दरका ४ हजार ३ सय ७३ थान रु. ४३,७३,०००, नेपाली रुपैयाँ १०० दरको नोट ७ थान रु. ७०० बरामद गरेको छ ।

प्रहरीका अनुसार हालको विनिमय दर अनुसार यी सबै नोटहरूको कुल मूल्य करिब रु. ७५ लाख ९६ हजार ९ सय बराबरको हुन आउँछ ।

उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम कसूर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ ।

घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा कारोबारको खोजी पनि भैरहेको जनाइएको छ । यसैगरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले ५८ बर्षे जङ्गे सार्कीलाई समेत सार्वजननिक गरेको  छ ।

पोखरा महानगरपालिका वडा नं. २७ रिठ्ठेपानी शान्ति खहरे टोलमा बसोबास गर्ने उनलाई  आइतबार पत्रकार सम्मेलनमार्फत उनलाई समेत सावर्जनिक गरिएको हो ।