विराटनगर— “अपराध गरेर उम्कन कसैलाई छुट छैन” भन्ने सन्देशसहित कोशी प्रदेश प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै आएको छ। यसै क्रममा आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा प्रदेशभरबाट ३ हजार ५ सय १३ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर लामो समयदेखि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने विशेष अभियान सञ्चालन गरिएको हो। प्रहरीको यो प्रयास कानूनी राज्यको स्थापना र न्याय प्रणालीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भएको बताइएको छ।
प्रहरीको विशेष रणनीति, सूचना प्रविधिको प्रयोग, र स्थानीय समुदायसँगको सहकार्यबाट यो उल्लेखनीय सफलता हात परेको हो। पक्राउ परेका प्रतिवादीहरूमध्ये १ हजार ४ सय १६ वर्षभन्दा बढीको कैद सजाय तोकिएको छ भने जरिवाना बापत १४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको राजस्व संकलन भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, इलामबाट १४६ जना, पाँचथरबाट ४२ जना, ताप्लेजुङबाट ४८ जना, धनकुटाबाट ५७ जना, तेह्रथुमबाट ४५ जना, भोजपुरबाट ४४ जना, संखुवासभा – २८ जना रहेका छन् ।
त्यसैगरी उदयपुरबाट २६० जना, ओखलढुंगा ६९ जना, सोलुखुम्बुबाट १४ जना र खोटाङबाट ५३ जना पक्राउ परेका छन् ।
प्रादेशिक अनुसन्धान समूहअन्तर्गत १५ जना पक्राउ परेका प्रहरीको भनाइ छ् ।
प्रहरीका अनुसार समाजमा खुलेआम हिँडडुल गरिरहेका अपराधीहरूले शान्ति सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्ने भएकाले फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन यो अभियानलाई निरन्तरता दिइनेछ।