सल्यान— सल्यानको कुमाख गाउँपालिका–२ बढाई ज्युलामा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट रागेचौरतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका यात्रुहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घाइतेमध्ये चालकसमेत रहेका छन्।
प्रहरीका अनुसार घाइते हुनेमा गाडी चालक कुमाख गाउँपालिका–६ का २७–२८ वर्षीय पारस आचार्य छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
त्यसैगरी, सोही पालिकाका ३६ वर्षीय भूपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य, १६ वर्षीय इन्द्र रावत, ५६ वर्षीय डोले बस्नेत र ३५ वर्षीया निर्मला पनि गम्भीर घाइते भएका छन्।
दुर्घटनामा बालबालिकाहरू पनि घाइते भएका छन्। कुमाख–४ की १० वर्षीया जेनिशा रानाको टाउको र खुट्टामा चोट लागेको छ भने ७ वर्षीय महेन्द्र बस्नेतको टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
यस्तै, कुमाख–६ का ६२ वर्षीय कालीमान हमाल, सुर्खेतको भेरीगंगा नगरपालिका–९ की ३१ वर्षीया तुलसा सुनार र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ की ८४ वर्षीया चन्दी विष्ट गम्भीर घाइते छन्।
मध्यम घाइते हुनेमा कुमाख–२ की ३२ वर्षीया दिपा बुढाथोकी, उनकी ६ वर्षीया छोरी कोपिला बुढाथोकी र रुकुम पश्चिम चौरजहारीकी ३१ वर्षीया कुन्ता विष्ट रहेका छन्।
यसैगरी, कुमाख–४ का २३ वर्षीय भुवन लामिछाने सामान्य घाइते भएका छन्। उनको उपचार रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा भइरहेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।