काठमाडौं— देशभरबाट छानिएका एक सय ६५ युवा सांसदले बिहीबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहमार्फत पद तथा गोपनीयताको शपथ लिएका छन्। ग्लोबल युथ पार्लियामेन्ट र राष्ट्रिय युवा सांसद कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न सो समारोहमा अध्यक्ष दिवाकर अर्यालले सांसदहरूलाई शपथ गराए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केवल विद्युत् उज्यालोले मात्र समृद्धि सम्भव नरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा समेत उज्यालो ल्याउनु आवश्यक रहेको धारणा राखे। उनले युवा पुस्ताले व्यापक परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राष्ट्र निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै, सांसद बन्ने उद्देश्य कुर्सी होइन, परिवर्तन हुनु पर्ने धारणा राखिन्।
कार्यक्रममा बोल्दै वरिष्ठ पाइलट विजय लामाले पद र बर्दी जस्ता जिम्मेवारीहरू नक्कली हुन नसक्ने भन्दै ती जिम्मेवारी ओगट्ने पात्र नक्कली हुँदा देश र जनताले मूल्य चुकाउनु परेको उल्लेख गरे।
कार्यक्रमको दोस्रो सत्रमा पूर्वराजदूत महेशराज दाहाल र अधिवक्ता रामहरि नेपालले युवा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया तथा संसदीय अभ्यासबारे प्रशिक्षण प्रदान गरे।
समारोहमा नागरिक समूह अध्यक्ष निगम हुमागाई, नेपाल–चीन मामिला विश्लेषक दिनेश खनाल, समाजसेवी विष्णुहरि दाहाल, युवा अभियन्ता विजय कँडेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
ग्लोबल युथ पार्लियामेन्टका अनुसार सांसद छनोटका लागि ७ हजारभन्दा बढी आवेदन परेका थिए। अनलाइन आवेदनमार्फत आएका उम्मेदवारहरू मध्येबाट अध्ययन, समाजमा योगदान र अनुभवको आधारमा प्रत्येक क्षेत्रबाट अन्तिम तीन जनाको सूची बनाइएको थियो। त्यसपछि असार १५ गते गरिएको अनलाइन भोटिङबाट एक९एक जना सांसद चयन गरिएको हो।
सांसद छनोट समितिमा पूर्वराजदूत महेशराज दाहाल, रक्षा नेपाल अध्यक्ष मेनुका थापा, पत्रकार बुद्धिसागर मरासिनी, अधिवक्ता रमण कर्ण, समाजसेवी विन्दु परियार थापा, अर्थविद् नवराज अर्याल, र ग्लोबल युथ पार्लियामेन्ट उपाध्यक्ष कैलाश श्रेष्ठ सहभागी थिए।
शपथ ग्रहण कार्यक्रममा सहभागी सांसदहरूलाई प्रमाणपत्र र विशेष ब्याच प्रदान गरिएको आयोजकले जनाएको छ।