विराटनगर— आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध गाँजाको ओसारपसार, कारोबार र खेती नियन्त्रणका लागि तीव्र अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। यस अवधिमा करिब १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको प्रहरीको दाबी छ।

प्रदेशभरि सक्रिय प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच कडा बनाएपछि बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाइएका गाडी, तरकारी बोक्ने सवारी, मोटरसाइकलजस्ता साधनमार्फत लुकाइछिपाइ गरिएको गाँजा बरामद गरिएको हो। कतिपय अवस्थामा गाँजा कोशी नदीमा बगाएर वा जमिनमुनि गाडेर ओसारपसार गरिएको पाइएको छ।

गाँजा बरामद गरिएका जिल्लाहरुमा सुनसरीबाटः १२,३७५ किलो ९२९ ग्राम, मोरङबाटः ६,६५० किलो ४०० ग्राम, धनकुटाबाटः ४,१९४ किलो ३०० ग्राम, उदयपुरबाटः १,८१० किलो ४८४ ग्राम र झापाबाटः १,६५१ किलो २८२ ग्राम गाँजा बरामद गरिएको थियो । जम्मा गरी २६,७०५ किलो ५३८ ग्राम ९७ मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १६५ जना पुरुष र २४ जना महिलालाई पक्राउ गरेको छ। यस्तै, ओसारपसारमा प्रयोग गरिएका ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ।

गाँजाको बोट तथा बेर्ना नष्ट गरिएको जिल्लाहरु धनकुटामा १२ लाख ५९ हजार, भोजपुरमा २८ लाख ४६ हजार, उदयपुरमा १६ लाख ८ हजार ५ सय, सोलुमा २९ हजार ७ सय र खोटाङमा २६ हजार २ सय जम्मा गरी करिब १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना, २,४६४ रोपनी खेतबारीमा नष्ट गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले लागूऔषध नियन्त्रणका लागि आम नागरिकको सहयोग आवश्यक रहेको बताउँदै यस्ता गतिविधि देखेमा वा थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न अनुरोध गरेको छ।