विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८१/८२ को बार्षिक कार्य सम्पादन सम्झौता (कासस) अनुसार सम्पन्न कार्यहरूको समिक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भर्चुअल समिक्षा कार्यक्रममा कोशी प्रदेशअन्तर्गतका सबै जिल्ला तथा मातहत प्रहरी कार्यालयका प्रमुखहरूले आ(आफ्नो कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।

समिक्षा क्रममा प्रस्तुत तथ्यांकहरूको विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले कार्य सम्पादन सम्झौतामा तोकिएको शतप्रतिशत लक्ष्य हासिल गर्न सफल भएकोले सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालयको रूपमा चयन गरिएको छ।

प्रदेश प्रहरी प्रमुख कार्कीले पाँचथरका प्रहरी प्रमुख प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) कौशल कुमार बुढाथोकीलाई हार्दिक बधाई दिँदै प्रशंसापत्र प्रदान गरेका छन्। उनले पाँचथर प्रहरी टोलीको कार्यकुशलता, प्रतिबद्धता र जनमैत्री सेवाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्तै प्रशंसनीय कार्यको निरन्तरताको शुभकामना व्यक्त गरे।

प्रमुख कार्कीले समस्त जिल्ला प्रहरी प्रमुखहरूलाई कार्य सम्पादन सम्झौता अनुसारका जिम्मेवारीहरूमा अझ गम्भीरतापूर्वक लाग्न, थप रचनात्मक कार्यहरू अघि बढाउन र २४ सै घण्टा आम जनताको सेवामा समर्पित रहन निर्देशन दिएका थिए।

कार्यक्रमको सहजीकरण प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले गरेका थिए भने कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूको उल्लेख्य उपस्थिति रहेको थियो।