काठमाडौं – भारतमा आकर्षक तलबको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई अनलाइन ठगीमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–६ का २४ वर्षीय राजकुमार अच्छामी (हाल भक्तपुर, लोकन्थली) र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का ४५ वर्षीय रेशमबहादुर खत्री (हाल वीरगञ्ज, पर्सा) रहेका छन्।

उनीहरूले एक नेपाली युवकलाई भारतमा ड्राइभरको काम दिलाउने भन्दै मासिक ३५ हजार भारू तलब र ओभरटाइमको लोभ देखाई गत वैशाख १९ गते काठमाडौंको बल्खुबाट वीरगञ्ज हुँदै भारतको पटना पुर्‍याएका थिए।

ब्यूरोका एसपी रुगम कुँवरका अनुसार "Well Star Dynamic Company" नामक संस्थामा तालिमको नाममा पीडितलाई करिब सात दिन बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको थियो।

त्यसपछि उनलाई फेसबुकमार्फत् अन्य व्यक्तिलाई त्यही कम्पनीमा ल्याउन लगाई मोबाइल प्रयोग गरी अनलाइन स्क्यामिङ गर्न बाध्य पारिएको थियो। कपडा खरिदको नाउँमा करिब दुई लाख रुपैयाँ असुलेर उनलाई झण्डै दुई महिना बन्धक बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलिएको छ।

पीडित युवक साउन १ गते नेपाल फर्किएपछि साउन ५ गते मानव तस्करीको उजुरी दिए। त्यसपछि सोही दिन राजकुमार अच्छामीलाई काठमाडौंको बल्खुबाट र रेशम खत्रीलाई वीरगञ्ज बसपार्कबाट पक्राउ गरिएको हो।

दुबै जनामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।