विराटनगर— झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।  बुधबार घटेका दुई छुट्टाछुट्टै घटनामा एक जनाको घटनास्थलमै र अर्काको उपचारका क्रममा मृत्यु भएको हो।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधीन पक्की घरमा छत ढलानको क्रममा फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विद्युतको नाङ्गो तारमा छोएपछि कामदार बर्जु गाउँपालिका–६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरी करेन्ट लागेर घाइते भएका थिए। उनीहरूलाई तत्काल इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो। श्रवण चौधरीलाई थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

त्यसै दिन साँझ झापाको गौरादह नगरपालिका–७ की ७७ वर्षीया तेजकुमारी उप्रेतीको आफ्नै गाईगोठमा कुटी काट्ने क्रममा विद्युत सट भई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीले दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।