विराटनगर— सुनसरी, झापा र उदयपुर जिल्लाबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा बुधबार विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उदयपुरको कटारी नगरपालिका–८ निवासी ४५ वर्षीया देवकुमारी थापा मगरलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजासहित पक्राउ गरेको हो।

त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर–६ बाट इलाम नगरपालिका–११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

यसैगरी, सुनसरीको ईनरुवा–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी–१ निवासी २२ वर्षीय साजन श्रेष्ठ र २३ वर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै विरुद्ध लागू औषध सम्बन्धी मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।