काठमाडौं— थाईल्यान्डको सिसाकेत प्रान्तस्थित एक गाउँमा रहेको व्यस्त ग्यास स्टेशनमा कम्बोडियाबाट प्रहार गरिएको रकेट खस्दा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । थाई सेनाले बिहीबार वक्तव्य जारी गर्दै ग्यास स्टेसनलाई लक्षित गर्दै आक्रमण भएको जनाएको हो।
थाई सेनाका प्रवक्ताका अनुसार रकेटले एक ग्यास स्टेशनलाई लक्षित गरी प्रहार गरिएको थियो । घटनास्थलको सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई सीएनएनले जियोलोकेट गरेको छ जसमा एक ७/११ स्टोर पूर्ण रूपमा क्षतिग्रस्त देखिन्छ ।
भिडिओहरूमा स्टोरको ढोका उडेको, झ्यालहरू फुटेका र वरपर धुवाँमय वातावरण देखिएको छ । त्यहाँका केही मानिसहरू घाइतेलाई सहयोग गर्न दौडिरहेका दृश्य पनि देखिएका छन्।
थाई सेनाका अनुसार अहिलेसम्म कूल ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । मृतकमध्ये एक ८ वर्षीय बालकसमेत छन् । थप दुई जनाको मृत्यु सुरिन प्रान्तमा र एक जनाको मृत्यु उबोन राचाथानी प्रान्तमा भएको बताइएको छ।
कम्बोडियामा पनि केही क्षति भएको आशंका गरिएको भए पनि हालसम्म त्यहाँका घाइते वा मृतकको आधिकारिक विवरण सार्वजनिक भएको छैन ।