जनकपुरधाम— धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन् । धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर मृत भेटिएका हुन्।

बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका डीएसपी सिंहको भनाइ छ । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।