काठमाडौं— नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठमाथि ‘बिचौलिया’को गम्भीर आरोप लागेको छ। पोखरास्थित लिची बगैचाको सरकारी जग्गा हडप्न उनले बिचौलियाको भूमिकामा काम गरेको अडियो सार्वजनिक भएपछि उनी अख्तियारको अनुसन्धान दायरामा आएकी हुन्।

बुधबार मात्रै श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) पुगेकी थिइन्। अख्तियार स्रोतका अनुसार उनले करिब दुई घण्टा बयान दिइन्।

उक्त अडियोमा श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सुजन लामाबीच घूस लेनदेन, पूजा र ‘क्यास’को मागसम्बन्धी कुराकानी रहेको खुलेको छ। अडियोसँगै सार्वजनिक भएको म्यासेजमा श्रेष्ठले “पशुपति पूजामा छु, क्यास चाहिएको छ” भनेकी छन्।

अख्तियारमा बुझाइएको प्रमाण अनुसार, श्रेष्ठले मन्त्री गुप्ताका लागि ‘नरिवलको तेल’ (जसको अर्थ महँगो ब्रान्डको रक्सी भएको अनुमान गरिएको छ) मागेको कुरा समेत खुलाइएको छ।

पशुपतिमा नियमित पूजाआजा गर्ने रञ्जिता श्रेष्ठ त्यसपछि भूमाफियासँग घनिष्ठ सम्बन्ध राख्ने गरेको प्रमाणित हुन थालेको अख्तियार स्रोतको भनाइ छ। उनी भूमाफियासँगको चलखेलमा संलग्न भएको भन्ने आरोप अनुसन्धानको दायरामा छ।

रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रहेका बेला समेत विभिन्न अनियमितता भएको आशंका गरिएको छ। उनको विगतका निर्णयहरूबारे अब अख्तियार विस्तृत अनुसन्धान गर्ने तयारीमा छ।

श्रेष्ठ टीकापुर घटनामा जेल परेका रेशम चौधरीकी श्रीमती हुन्। रेशम जेलमै हुँदा उनले नागरिक उन्मुक्ति पार्टी खोलेर अध्यक्ष बन्ने र पछि मन्त्रीसमेत हुने मौका पाएकी थिइन्। अहिले भने उनीमाथि गम्भीर भ्रष्टाचार र चलखेलको आरोप लागिरहेको छ।