बंगलादेश— बंगलादेशका पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। डिटेक्टिभ ब्रान्च (डीबी) को टोलीले स्थानीय समय अनुसार बिहान ८ बजे ढाकास्थित धानमन्डीमा रहेको उनको निवासबाट पक्राउ गरेको हो।

खैरुलविरुद्ध तीनवटा मुद्दा दर्ता भएका डीबीका संयुक्त आयुक्त नासिरुल इस्लामको भनाइ छ । तीमध्ये एउटा मुद्दा बंगलादेशको संविधानको १३औँ संशोधन खारेज गर्ने ऐतिहासिक निर्णयसँग सम्बन्धित छ। उनलाई न्यायिक निर्णयमा परिवर्तन, भ्रष्टाचार र प्रक्रियामा अनियमितता गरेको आरोप लागिएको छ।

खैरुल हक सन् २०१० अक्टोबर १ देखि २०११ मे १७ सम्म बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा कार्यरत थिए। सन् २०११ मा उनको नेतृत्वमा सर्वोच्च अदालतले १३औँ संशोधनलाई असंवैधानिक ठहर गर्दै कार्यवाहक सरकार प्रणाली अन्त्य गर्ने निर्णय सुनाएको थियो।

पूर्वप्रधानन्यायाधीशविरुद्ध एक उजुरी वकिल मुजाहिदुल इस्लाम शाहिनले अगस्ट १८ मा शाहबाग प्रहरी चौकीमा दर्ता गराएका थिए भने अर्को उजुरी नारायणगन्जमा बीएनपीका महासचिव अब्दुल बारी भुइयाँले अगस्ट १५ मा दर्ता गराएका थिए।

शेख हसिनाको सरकार अपदस्थ भएपछि नोबेल विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले विभिन्न उच्चपदस्थहरू  राजनीतिज्ञ, अधिकारी र न्यायाधीशहरूमाथि कारबाही अघि बढाएको छ।