सप्तरी— सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा दुई पुरुषको शव शंकास्पद अवस्थामा फेला परेका छन्। राजगढ–३ र राजगढ–५ मा दुई फरक स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलको धानखेतमा करिब ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको र घटनाको प्रकृति शंकास्पद देखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, राजगढ गाउँपालिका–३ मा २१ वर्षीय युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका जितेन्द्र यादव रहेको पुष्टि भएको छ। यादवको शव उनको ससुराली घरमै झुन्डिएको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार शंकास्पद देखिएको घटनाको अनुसन्धान भइरहेको छ भने यादवको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
दुवै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।