कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित वडा कार्यालयमा बुधवार राति चोरी भएको छ। अज्ञात समूहले कार्यालयको ढोका तोडेर विभिन्न महत्वपूर्ण सामग्री चोरी गरेको वडा अध्यक्ष पहलबहादुर थापाले जानकारी दिए।
उनका अनुसार चोरहरूले कार्यालयको पछाडिपट्टिको ढोका र वडा सचिवको कार्यकक्षको ताला फोडेर प्रवेश गरेका थिए। चोरी भएका सामानहरूमा एक थान कम्प्युटर, सीपीयू, ल्यापटप र भित्ते पंखा रहेका छन्।
वडा कार्यालय हाल एक भाडाको घरमा सञ्चालनमा रहेको थियो। केही महिनामै नयाँ भवनमा सर्ने तयारी भइरहेकाले कार्यालयमा सीसीटीभी जडान गरिएको थिएन। नजिकैको स्वास्थ्य चौकीमा जडित क्यामेरामा पनि चोरहरू देखिएको छैनन्।
चोरीपछि वडा सचिवले प्रयोग गर्दै आएको मुख्य कम्प्युटर हराएकोले बिहीबारदेखि वडा कार्यालयको सेवा प्रवाहमा गम्भीर समस्या आएको बताइएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो र प्रारम्भिक अनुसन्धान तथा मुचुल्का तयार गर्ने काम भइरहेको छ। प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी र पहिचानका लागि थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।