काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वराजदूत टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन संविधानले कुनै रोकावट नगर्ने बताएका छन्। संविधानले नरोक्ने विषयमा राजनीतिले पनि प्रतिबन्ध लगाउन नमिल्ने उनको तर्क छ।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले लेखेका छन्, “पूर्वराष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन। त्यसैले संविधानले रोकेको छैन, राजनीतिले कसरी रोक्न मिल्छ?”
कार्कीले अन्य व्यक्तिहरूको उदाहरण दिँदै भण्डारीलाई राजनीतिमा फर्किन नहुने भन्ने सोचप्रति व्यंग्य गरेका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, सुवास नेम्बाङ, पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले पनि जिम्मेवारीपछि राजनीतिक भूमिकामा सक्रियता देखाएको स्मरण गराएका छन्।
कार्कीले व्यंग्य गर्दै भनेका छन्, “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राजनीतिको मजेरी टेक्नु हुन्न!!”
यता, नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले भने भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा लाग्न नहुने निर्णय गरेको थियो। पार्टीले संविधानका विभिन्न धारा उद्धृत गर्दै राष्ट्राध्यक्षको भूमिका निर्वाह गरिसकेकी व्यक्तिले दल विशेषको सदस्य वा नेता बन्नु संविधानको मर्म विपरीत हुने ठहर गरेको छ।
तर कार्कीले आफ्नै पार्टीको निर्णयप्रति अप्रत्यक्ष टिप्पणी गर्दै भनेका छन्, “हामी बडो लोकतान्त्रिक छौं। हामी राजनीति गर्छौं।”