विराटनगर— कोशी प्रदेश प्रहरीले लागूऔषधको ओसार–पसार र प्रयोग नियन्त्रणमा आक्रामक रणनीति अपनाउँदै यो आर्थिक वर्ष २०८१/८२ मा चरेश, अफिम, ब्राउनसुगर तथा विभिन्न मनोसामग्री औषधीसहित १ हजार ९ सय ८५ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार समातिएका मध्ये १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिला छन्। लागूऔषधका कारण समाजमा हत्या, लुटपाट, चोरी जस्ता अपराधको जोखिम उच्च हुने भएकाले यसलाई नियन्त्रण र निरुत्साहन गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रहरी सक्रिय बनेको हो।

कोशी प्रदेश प्रहरीद्वारा सार्वजनिक तथ्याङ्कअनुसार ब्राउन सुगरः ५ किलो ४८९ ग्राम, चरेशः ३ ग्राम ५८८ मिलिग्राम, अफिमः १५ ग्राम ७७० मिलिग्राम, मनोदिपक चक्की र क्याप्सुलः ६ लाख १५ हजार ७९ वटा, एम्पुलः २ हजार ६५४ वटा र अन्य मनोदिपक औषधिः १०९ वटा यस आर्थिक वर्षमा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्लागत विवरणमा झापाबाट चरेश १.५६ ग्राम, ब्राउन सुगर २.८८ किलो, मनोदिपक औषधि ६३,५६० चक्की/क्याप्सुल, ३९ एम्पुल बरामद गरिएको छ । मोरङबाट ब्राउन सुगर १.७७ किलो, मनोदिपक औषधि ८०,९२३ चक्की/क्याप्सुल, १,४८५ एम्पुल, सुनसरीबाट चरेश २.०२ ग्राम, ब्राउन सुगर ७२८.५३९ ग्राम, मनोदिपक औषधि ४ लाख २८ हजार ६८३ चक्कीरक्याप्सुल, ३१८ एम्पुल बरामद गरिएको छ ।

प्रदेशभरका मुख्य लोकमार्ग, भित्री सडक, सीमावर्ती नाका तथा शंकास्पद स्थानहरूमा कडा चेकजाँचसहित प्रहरी परिचालन गरिएको छ। लागूऔषध लुकाएर शरीरका विभिन्न भाग तथा मलद्वारमार्फत तस्करी गर्नेहरु समेत पक्राउ परेका छन्। प्रहरीको कारवाहीमा संलग्न ठूला गिरोहलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको विवरणसमेत प्रहरीले दिएको छ।

साथै, कोशी प्रदेश प्रहरीले लागूऔषध विरुद्धको अभियानलाई केवल कानुनी कारवाहीसम्म सीमित नराखी, जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ। विद्यालय, समुदायस्तरका कार्यक्रम, श्रव्यदृश्य सामाग्री निर्माण तथा टेलिभिजनरएफएममार्फत सन्देश सम्प्रेषण गरिएको छ। प्रदेश सरकार, स्थानीय तह र विभिन्न संघसंस्थासँग समन्वयमा 'दुर्व्यसन विरुद्ध आमासँग' जस्ता अभियानहरूसमेत सञ्चालन भइरहेको छ।

प्रहरीले आम नागरिकलाई लागूऔषध सम्बन्धी कुनै जानकारी वा गतिविधि देखेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ।