भक्तपुर – भक्तपुरका दुई बालक १० दिनदेखि सम्पर्कविहीन भएका छन्। कलमविनायकस्थित सरस्वती विद्यालय गृहमा कक्षा ५ मा अध्ययनरत सागर कार्की र सिसम राई असार २७ गतेदेखि बेपत्ता छन्।

ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ स्थायी घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–९, इथाचामा बसोबास गर्दै आएका उनीहरू बिहान विद्यालय जान भन्दै घरबाट निस्केका थिए। तर, त्यसयता उनीहरूको कुनै खबर आएको छैन।

सागरका दाई नातागोता पर्ने सुभराज कटुवालका अनुसार, ती बालकहरू विद्यालयको पोशाकमै भए पनि झोलामा अन्य कपडासमेत लिएर निस्किएका थिए। "त्यसैले कतै काम गर्न गएका हुन् कि भन्ने शंका गरिएको छ," कटुवालले बताए।

अभिभावकहरूले खोजीका लागि स्थानीय प्रहरी कार्यालयमा निवेदन दिएका छन्। तर, विद्यालय प्रशासनले खोजीमा चासो नदेखाएको भन्दै उनीहरूका आफन्तले असन्तोष व्यक्त गरेका छन्।

"विद्यालयले हराएको दिनदेखि नै तत्काल प्रतिक्रिया जनाएको भए, खोजीमा सहयोग पुग्थ्यो," कटुवालले भने। उनीहरूलाई कतै होटल वा घरायसी कामका लागि गएकाको हुन सक्ने आशंका गरिएको छ।

हालसम्म प्रहरीबाट विशेष प्रगति नभएको भन्दै परिवारजनले सार्वजनिक सहयोगको पनि आह्वान गरेका छन्।