खोटाङ – वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। साउन २ गतेदेखि सम्पर्कविहीन रहेका हरिप्रसाद तीन वर्षअघि फाजल इन्टरनेशनल प्रालिमार्फत मलेसिया गएका थिए।

सम्पर्कविहीन हुनुभन्दा एक दिनअघि, साउन १ गते, मलेसियामै रहेका उनका साहिला दाजु हिमाल राईलाई हरिप्रसादले फेसबुक म्यासेन्जरमार्फत सन्देश पठाएका थिए। उनले लेखेका थिए, “म अप्ठ्यारोमा छु, मलाई सिध्याउने षड्यन्त्र भइरहेको छ। मालिकलाई नबताउनु, थाहा पाउनुभयो भने झन् गाह्रो हुन्छ। म भागेर घर फर्कन चाहन्छु, मलाई निकाल्न सल्लाह गर्नु।”

उक्त सन्देश आएको भोलिपल्टदेखि हरिप्रसाद सम्पर्कविहीन भएका हुन्। त्यसयता उनको फोन उठेको छैन र उनी कार्यरत कम्पनीमा पनि छैनन्।

हरिप्रसाद मलेसियाको क्वालालम्पुरस्थित स्यारोटन होटलमा सहायकको रूपमा कार्यरत थिए। दाजु हिमालका अनुसार, उनले काममा कुनै गल्ती नगरेको भए पनि अरूको गल्तीको दोष आफूलाई थोपरेर समस्या सिर्जना गरिएको बताएका थिए।

हरिप्रसाद सम्पर्कविहीन भएपछि दाजु हिमालले मलेसियास्थित नेपाली राजदूतावास र कम्पनीमा निवेदन दिएका छन्। “सम्पर्कविहीन भएको भोलिपल्टै दूतावासमा निवेदन दिए पनि अहिलेसम्म कुनै जवाफ आएको छैन,” उनले भने, “भाइको म्यासेज हेर्दा गम्भीर षड्यन्त्रको आंशका गर्न सकिन्छ।”

नेपालबाट हरिप्रसादलाई पठाउने काम गरेको फाजल इन्टरनेशनलका पूर्वप्रतिनिधि निरज दाहालका अनुसार, हरिप्रसाद कम्पनी छाडेर निस्किएको देखिन्छ। “कम्पनीमै भएको भए कानुनी प्रक्रिया अगाडि बढाउन सकिन्थ्यो, तर अहिले स्थिति अन्यौलपूर्ण छ,” दाहालले भने।

उनका अनुसार, हरिप्रसादसहित खार्मीका अन्य छ युवासमेत उक्त कम्पनीमार्फत मलेसिया गएका थिए। प्रत्येकले एजेन्टमार्फत रु २ लाख ५० हजार धरौटी बुझाएका थिए।

हरिप्रसादको लामो समयदेखि सम्पर्क नहुँदा परिवारमा गहिरो चिन्ता छ। “हाम्रो माग एउटै छ – भाइ जुन अवस्थामा छन्, फेला पारियोस्,” दाजु हिमालले भने, “हामीलाई केवल खबर होस् कि उनी कहाँ छन् र कस्तो अवस्थामा छन्।”