विराटनगर— भारतीय संविधान र अदालती प्रक्रियाबारे अध्ययन गर्न भारतको पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ ल (मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत) को टोलीले एमिटी युनिभर्सिटीसँग सहकार्यको नयाँ ढोका खोलेको छ।
पटनास्थित एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युट अफ लबीच कानुनी अध्ययन र अनुसन्धानमा आपसी सहकार्य गर्ने सहमति भएको हो। उक्त सहकार्यले दुबै संस्थाबीच शैक्षिक अनुभव, अनुसन्धान तथा व्यवहारिक अध्ययन आदान–प्रदानमा सहयोग पुर्याउनेछ।
एमिटी विश्वविद्यालयका प्रोफेसर डा. राजिवरञ्जन झाको नेतृत्वमा नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे विस्तृत जानकारी दिइएको थियो। मनमोहन इन्स्टिच्युटका प्रिन्सिपल कोषराज न्यौपानेका अनुसार भ्रमणको क्रममा औपचारिक सम्झौता गरी सहकार्यलाई संस्थागत गर्ने सहमति पनि भएको छ।
एक सातासम्मको भ्रमणमा सहभागी ३७ जना विद्यार्थी तथा शिक्षकहरुले पटना उच्च अदालतको न्यायिक प्रक्रिया प्रत्यक्ष अवलोकन गरेका थिए। विद्यार्थीहरूले भ्रमण सिकाइमैत्री रहेको बताउँदै भारतीय न्याय प्रणालीबारे नजिकबाट बुझ्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्।
कोशी प्रदेश सरकार अन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक कलेज मनमोहन इन्स्टिच्युट अफ ल देशमै पहिलो पटक बीबीए एलएलबी र क्रिमिनल लमा एलएलएम तहमा व्यवहारिक शिक्षा प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ। नयाँ सहकार्यले कानुनी शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत समेट्दै थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।