रुकुमपूर्व— रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका एउटै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ।

गएराति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका क्रममा ७ वर्षीया भाग्यरेखा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। त्यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ, ३ वर्षीय योजन विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बेलुकी जङ्गलबाट ल्याइएको च्याउ खाएपछि उनीहरू अचानक बिरामी परेका थिए। च्याउ विषालु भएको आशंकामा स्वास्थ्यकर्मीहरूले समयमै उपचारको लागि पहल गरे पनि दुई बालबालिकाको ज्यान जोगाउन सकिएन।

प्रहरीका अनुसार बाँकी दुई जनाको अवस्था पनि गम्भीर रहेको र उनीहरूको उपचार जारी छ। यस घटनापछि स्थानीय क्षेत्रमा जङ्गली च्याउ खाँदा विशेष सावधानी अपनाउन स्वास्थ्यकर्मी तथा स्थानीय प्रशासनले अनुरोध गरेका छन्।