काठमाडौ— नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको वृद्धि भएको ज्याला चाँडो कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

युनियनका महासचिव अजयकुमार राईले आज विज्ञप्ती जारी गर्दै वृद्धि भएको पारिश्रमिकलाई आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्ब कार्यान्वयनमा लैजान र त्रिपक्षीय  संरचना बनाई अनुगमन गर्न माग गरे । ट्रेड युनियन कांग्रेसले श्रम ऐन, २०७४ को प्रावधान अनुसार प्रत्येक २/२ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यवस्था भएअनुरूप विधि तथा प्रक्रियाअनुरुप भएको यो निर्णयले श्रमिकको जीवनस्तरमा न्यूनतम राहत पुग्ने अपेक्षा गरेको छ ।

महँगीको चाप र जीवन धान्न आवश्यक न्यूनतम खर्च अहिले वृद्धि भएको पारिश्रमिक मागअनुरुप हुन नसके पनि पारिश्रमिक निर्धारणको न्यूनतम मापदण्डका आधारमा सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधि सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सर्वसम्मत निर्णय हुनु सकारात्मक कुरा भएको महासचिव राईले बताए ।

यसैगरी, नेपाल ट्रेड युनियन कांग्रेसले रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन मितेरी पुल बगाउँदा चिनियाँ भूमिमा अलपत्र परेका नेपालीको चाँडो उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले यातायात क्षेत्रका मजदुर, सवारीचालक, सहचालकलगायतका १६० भन्दा बढी नेपाली केरुङको तानसिङमा अलपत्र परेका र उनीहरुले हालसम्म उद्धार हुन नसक्नु दुःखद भएको जनाएको छ ।

यस्तै, उद्धारको पर्खाइमा रहेका श्रमिकले त्यहाँ बस्न गाह्रो भएको, बिरामी परेको, आवश्यक औषधि अभाव भएकाले अविलम्ब उद्धार गर्न गुहार गरेको विज्ञप्तिमा उल्लेख छ ।