पोखरा— पोखरामा नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा शिशुका बाबु गोविन्द लामिछाने पक्राउ परेका छन्। गत वर्ष असोज १३ गते पोखरा–१४ चाउथेस्थित पृथ्वी राजमार्ग छेउमा झोलामा बेरेर फालिएको शिशुको शव फेला परेको थियो। 

पोस्टमार्टममा घाँटी र टाउकोमा चोट लागेर मृत्यु भएको पुष्टि भएपछि प्रहरीले कर्तव्य ज्यानअन्तर्गत अनुसन्धान सुरु गरेको थियो।

नुवाकोट घर भई हाल पोखरामा बस्दै आएका लामिछाने फरार थिए। झन्डै १० महिनापछि, आइतबार अर्की श्रीमतीलाई अस्पताल ल्याउँदा प्रहरीले उनलाई पक्राउ गरेको हो। अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।