काठमाडौँ — दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध भ्रष्टाचारको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
अख्तियारमा सी–०८३०२९ दर्ता नम्बरमा गत असार २६ गते उजुरी दर्ता भएको हो। उजुरीकर्ताले गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरिएको आरोप लगाएका छन्।
तीनतले २० कोठे नयाँ भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष झन्डै १२ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। उजुरीमा उल्लेख गरिएअनुसार भवन निर्माणका क्रममा “हिटिङ सिस्टम” भन्ने विशेष प्रावधान अनावश्यक रूपमा राखिएको छ, जुन नेपालमा सामान्य रूपमा प्रयोग नहुने प्रविधि हो।
सामान्यतया उक्त प्रविधि अत्यधिक चिसो, हिमाली क्षेत्र वा चीनजस्ता देशका लागि उपयुक्त मानिन्छ, जसअनुसार बटन थिचेपछि कोठा तत्ने प्रणाली जडान गर्नुपर्ने हुन्छ। नेपालमा यस्तो प्रविधिको अनुमति (लाइसेन्स) प्राप्त कम्पनीहरू नगन्य मात्रामा छन्।
उजुरीमा अध्यक्ष थोकर र प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीले आफूले रोजेका सीमित कम्पनीहरूलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया सञ्चालन गरेको आरोप लगाइएको छ। साथै, इन्जिनियर सञ्जु शिवाकोटी र सुमन नेपालमाथि पनि छानबिन माग गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी दर्ता भएसँगै प्रारम्भिक छानबिन अघि बढाएको जनाएको छ।