विराटनगर— संखुवासभा र मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। निर्माणस्थलमा काम गर्ने क्रममा करेन्ट लाग्दा उनीहरूको ज्यान गएको हो।
संखुवासभाको चिचिला गाउँपालिका–३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्दै गरेका कैलाली घोडाघोडी नगरपालिका–४ का ४० वर्षीय करण धर पौडेल सुरुङभित्र कार्यरत रहँदा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा, खाँदबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, मोरङको केराबारी गाउँपालिका–८ स्थित महादेव क्रसरमा वेल्डिङको काम गर्दै गरेका गोरखा जिल्ला स्थायी घर भएका ३५ वर्षीय मंगल चेपाङ पनि करेन्ट लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
दुबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।