विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि उत्कृष्ट कार्य सम्पादन गर्ने दुई प्रहरी अधिकृतलाई “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई विभागीय मूल्य, मान्यता, आदेश तथा निर्देशनको प्रभावकारी पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेकोमा सम्मानित गरिएको हो।

प्रहरी निरीक्षक विजय चौहान 1

प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ स्थित चेकजाँचका क्रममा ४७.६९ ग्राम ब्राउन सुगरसहित एक जना व्यक्तिलाई र एउटा कार नियन्त्रणमा लिएका थिए। त्यस्तै, भद्रपुर–७ मा ६ राउण्ड गोली फायर गरी २०५.८ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेका थिए। यसै गरी झापा गाउँपालिका–४ मा साइक्लको चक्काभित्र लुकाइएको १६७ ग्राम ब्राउन सुगर बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिन सफल भएका थिए।

त्यस्तै, प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ स्थित एक व्यक्तिलाई ज्यान मारी फरार रहेको अवस्थामा सोही दिन पक्राउ गर्न सफल भएका थिए। साथै, कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय प्राप्त गरेका व्यक्तिसहित विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्नुका साथै लागू औषध दुर्व्यसन नियन्त्रणमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

यसरी दुबै अधिकृतले देखाएको समर्पण, साहस र उत्कृष्ट कार्य सम्पादनलाई उच्च मूल्याङ्कन गर्दै २०८२ साल असार महिनाको 'महिनाको सर्वोत्कृष्ट प्रहरी' घोषणा गर्दै उनीहरूलाई औपचारिक रूपमा पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।