तनहुँ— जन्मजात शारीरिक अपांगता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन ।

मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आएका छन् । म्याग्दे गाउँपालिका– १ गुणादीकी नवीनाको जन्म २०६२ साल माघ ११ गते भएको थियो । २०६८ सालमा उनले आमा गुमाएकी थिइन् ।

बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपांगता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो । तर उनको नागरिकताको प्रमाणपत्र नहुँदा अपांगता भत्ता भने पाउनबाट वञ्चित भएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर शारीरिक अपांगता भएकी नवीनालाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् । उनको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरी औँठाछाप लगाउन मात्र बाँकी राखिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘अपांगता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नवीनालाई नागरिकता दियौँ ।’

उनले यस्ता कार्यले परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा विकास भएर जाने उल्लेख गरे । उक्त अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष मणिभद्र वाग्लेलगायतको उपस्थिति थियो ।

म्याग्दे–१ का अध्यक्ष वाग्लेले नविना नागरिकता नहुँदा अपांगता भत्ताबाट वञ्चित भएकोमा सबैको पहल र प्रयासले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्न सकिएको बताए ।