रौतहट– रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उक्त गाँजा फेला पारेको हो। हाल बरामद गरिएको गाँजाको तौल गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले नियमित चेकजाँचका क्रममा उक्त कारलाई रोक्न खोज्दा चालकले गाडी नथामेर तीव्र गतिमा भाग्न थालेका थिए। पछि प्रहरी टोलीले पिछा गर्दा झाझ खोलानजिकै करिब २० फिट गहिरो खेतमा गाडी छाडेर चालक फरार भएका थिए।

प्रहरीले सूचना पाएअनुसार रातो रंगको ब्रेजा कारमार्फत प्रतिबन्धित गाँजा सदरमुकाम गौरतर्फ लैजाँदै गरिएको आशंकामा चेकिङ कडा बनाएको थियो। तर, चालकले प्रहरी चेकिङ छल्न खोज्दा असफल भएपछि गाडी छाडेर भागेको बताइएको छ।

क्रेनको सहाराले गाडी निकालेपछि कारभित्र ठूलो मात्रामा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रहरी निरीक्षक (डीएसपी) राजन कार्कीले हालसम्म गाँजाको यकिन तौल पूरा नभएको बताए। साथै, उक्त कारमार्फत गाँजाको कारोबार गर्ने गिरोहसम्म पुग्ने प्रयास भइरहेको र यस विषयमा गहिरो अनुसन्धान सुरु गरिएको पनि उनले जानकारी दिए।