महोत्तरी— महोत्तरी गाउँपालिका–१ का ३२ वर्षीय बिमलेश यादवको हत्या अभियोगमा प्रहरीले २१ वर्षीया युवती जुली झालाई पक्राउ गरेको छ। प्रहरीले गेष्ट हाउसमा भएको घटनापछि उनलाई महोत्तरीकै परौलबाट नियन्त्रणमा लिएको हो।

प्रहरी अनुसन्धान अनुसार जुली र बिमलेशबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। प्रारम्भिक बयानमा झाले भनेकी छन्, “उसँग सम्बन्ध तोड्न सक्दिनथेँ, ब्ल्याकमेल हुँदै आएको थियो। आत्महत्या वा हत्या – दुई विकल्प थिए, म दोस्रो रोजेँ।

झाका अनुसार बिमलेशले सहमतिमा भएको शारीरिक सम्बन्धका फोटो र भिडियो खिचेर ब्ल्याकमेल गरिरहेका थिए। ती दृश्यहरू उनले जुलीका आफन्त र साथीहरूलाई समेत पठाएका थिए।

साउन ३ गते गेष्ट हाउसमा बोलाएर मदिरा सेवन गरेपछि, झाले बिमलेशमाथि चक्कु प्रहार गरेकी थिइन्। त्यसपछि यादव होटलको माथिल्लो तलाबाट खस्दै गम्भीर घाइते भएका थिए। प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल पुर्‍याएको थियो, जहाँ साउन ४ गते बिहान उनको मृत्यु भयो।

घटनास्थलको सीसीटीभी फुटेजमा बिमलेश नग्न र रगताम्य अवस्थामा खसेको दृश्य देखिन्छ भने, झा चप्पलविनै भागिरहेको देखिन्छिन्।

प्रहरीले झाविरुद्ध कर्तव्य ज्यानअन्तर्गत अनुसन्धान गरिरहेको छ। पक्राउ परेकी झाले बिमलेश सशस्त्र प्रहरी बलका पूर्वकर्मचारी भएको दाबी गरेकी छन्।