काठमाडौं— अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका ५५ वर्षीय शिक्षक जगतबहादुर कुँवर करिब एक महिनादेखि बेपत्ता छन्। गत असार १७ गते बिहान करिब ५ः०० बजे मर्निङ वाकका लागि घरबाट निस्किएका कुँवर त्यसयता अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
कुँवर बेपत्ता भएको दिनको बेलुकाको सिसिटिभी फुटेजमा उनलाई कुरिनटार क्षेत्र हुँदै चितवनतर्फ पैदल जाँदै गरेको देखिएको परिवारले जानकारी दिएको छ। तर त्यसपछि उनको अवस्था, ठेगाना वा सम्पर्कबारे कुनै जानकारी प्राप्त हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ।
कुँवरको परिवार, आफन्तजन तथा शुभेच्छुकहरूले खोजी कार्य तीव्र पार्न सबैमा अपिल गरेका छन्। “हाम्रा अभिभावक महिनौं भइसक्दा पनि सम्पर्कमा आउनु भएको छैन,” कुँवरको छोराले भने, “जो–कोहीले उहाँलाई देख्नुभएको वा जानकारी प्राप्त गर्नुभएको छ भने तत्काल हामीलाई खबर गरिदिनुहोस्।”
यदि कसैलाई कुँवरसम्बन्धी कुनै जानकारी छ भने निम्न मोबाइल नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छः मोबाइल नम्बरः ९८५८०५५३३०, ८४१५१३५७३
र ९८६८५२०८७४ ।