चितवन— कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । 

गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए । यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का हुन् भने अन्य चितवनका छन् । 

गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी छ जना रहेको उनले जानकारी दिए । 

उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन् । प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ । 

कारागारमा गत आर्थिक वर्षमा दुईजना कैदीबन्दीको मृत्यु भएको उनले जानकारी दिए  । क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो । अहिले कारागार कार्यालयमा ७३० जना छन् ।

जसमध्ये ६८४ जना पुरुष र ४६ जना महिला रहेका छन् । तीसँग आश्रित पाँचजना बालबालिका रहेका छन् । कारागारमा ४७० पुरुष र ३५ जना महिला राख्ने क्षमता रहेको छ ।