काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सुधारको पहलस्वरूप गृह मन्त्रालयले ४५ जना नयाँ शाखा अधिकृत खटाएको छ। लोकसेवा आयोगबाट पास भएका यी अधिकृतहरूलाई तीन दिने तालिमपछि आजदेखि अध्यागमन कार्यालयमा खटाइएको हो।

सहसचिव नरहरि घिमिरे विमानस्थलस्थित अध्यागमन कार्यालयका नयाँ प्रमुखका रूपमा नियुक्त भएका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा कार्यरत थिए।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले प्रमुखसहित सबै ४५ अधिकृत सोमबारदेखि कार्यरत भइसकेको जानकारी दिए।

गृह मन्त्रालयले अध्यागमनमा खटाइएका अधिकृतहरूको दरबन्दी मिलाउन मन्त्रालयबाट सोही संख्यामा अधिकृत तानेको छ। दरबन्दीभन्दा बढी भएमा तिनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अन्यन्त्र पठाइने उपसचिव सुरेश जोशीले बताए।

यससँगै, सरकारले अध्यागमन र भिजिट भिसा समस्याबारे समाधान खोज्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ। समिति हाल कार्यादेश अनुसार काम गरिरहेको छ।