काठमाडौं— मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको भद्रकाली क्षेत्रबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिए।

अहिराजमाथि माघ ३ गते जिल्ला प्रहरी परिसरमा बालिका बलात्कारको उजुरी दर्ता भएको जिल्ला प्रहरी काठमाडौंले जनाएको छ । उजुरी दर्ता भएपछि उनी भारततर्फ फरार भएका थिए। केही हप्तायता काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा प्रहरीले खोजी गरेर उनलाई पक्राउ गरेको हो।

पक्राउ परेपछि उनलाई अनुसन्धानका लागि अदालतमा पेश गरिएको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। अदालतले २०८१ चैत २५ मै पक्राउ अनुमति जारी गरेको थियो।

पीडित युवतीका अनुसार डा. अहिराजले उनलाई १७ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका थिए। मधेसी मूलकी ती युवतीलाई काठमाडौं ल्याएर घरायसी काममा संलग्न गराई पठनपाठनको जिम्मा लिने बहानामा उनले पटकपटक यौन दुव्र्यवहार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन्। उजुरी दर्ता भएपछि आफूले विभिन्न माध्यमबाट धम्की पाएको पनि उनले दाबी गरेकी छन्।

डा. अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेश प्रदेशको प्रमुख पदमा रहेका थिए।