काठमाडौं — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी राजनीतिमा सक्रिय भइसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ। उक्त भेटवार्ता दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासलमा तय गरिएको छ।

पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेशको विषयमा हालै बसेको एमाले सचिवालय र पोलिटब्यूरो बैठकमा व्यापक छलफल भएको थियो। बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओली स्वयंले भेट गरेर छलफल गर्नुपर्ने सुझाव दिएपछि यो भेट तय गरिएको हो।

भण्डारीले गत असार १४ गते ७४औं मदन जयन्तीको अवसरमा एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै पार्टी सदस्यता नवीकरण गरेको खुलासा गरेकी थिइन्। त्यसयता एमालेको आन्तरिक राजनीतिमा तरंग उत्पन्न भएको छ।

पार्टीको पोलिटब्यूरो बैठकमा भण्डारीको भूमिकाबारे नेताहरूबीच मतभेद देखिएको छ। एमालेको संस्थापन ओली पक्षले भण्डारीको सदस्यता नवीकरण प्रक्रिया स्थगित गरिएको जानकारी दिएको छ।