सुनसरी— सुनसरी जिल्लामा शुक्रबार बिहान भएका दुई फरक सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–२० स्थित बिहान पौने १० बजे प्रदेश नं. २–०१–००३ प २७२८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५० वर्षीय बिमल कुमार साह गम्भीर घाइते भएका थिए। सिरहा, लहान–८ निवासी साहको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–५ मा प्रदेश १–०२–००२ ख ०२४० नम्बरको टिपरले प्रदेश १–०२–०४३ प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३५ वर्षीय सुदिन यादव गम्भीर घाइते भएका थिए। उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा यादवको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा संलग्न टिपर चालक भोक्राहा–२ का २८ वर्षीय जयप्रकाश मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।