विराटनगर— झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
झापाको अर्जुनधारा नगरपालिका–४ का ३५ वर्षीय दीपक पाण्डे साउन २ गते दिउँसो साढे २ बजे बिर्तामोड–२ स्थित विद्युत् ट्रान्समिटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दिनकै दिउँसो सुनसरीको रामधुनी नगरपालिका–६ की १८ वर्षीया स्मृति चौधरी आफ्नै घरमा रहेको पानी तान्ने कल चलाउने क्रममा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुवै घटनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ।