इलाम— इलामको माईजोगमाई गाउँपालिका–२ का २३ वर्षीय प्रकाश चापागाईको धारिलो हतियार (छुरा) प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, सुर्योदय नगरपालिका–१ का ३३ वर्षीय किरण शेर्पाले ससुराली घरमा आएका प्रकाश चापागाई र उनका दाजु निरोज चापागाईमाथि छुरा प्रहार गरेका थिए। घटनामा प्रकाश चापागाईको घटनास्थलमै मृत्यु भएको थियो भने उनका ३२ वर्षीय दाजु निरोज चापागाई गम्भीर घाइते भएका छन्। हाल घाइते निरोज चापागाईको झापाको बी एण्ड सी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।

असार ३२ गते राति भएको उक्त घटनापछि फरार रहेका शेर्पालाई प्रहरीले खोजतलासको क्रममा साउन १ गते सुर्योदय नगरपालिका–१ को मानेभञ्ज्याङ क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका किरण शेर्पामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान तथा कानूनी कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।