विराटनगर— मोरङ, सुनसरी र धनकुटा जिल्लाबाट लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। प्रहरीले भारत तथा नेपालका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मोरङको सुनवर्षी नगरपालिका–९ स्थितमा चेकजाँचका क्रममा भारत बिहार, सिक्टी ग्राम पंचायत निवासी ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायत निवासी ३२ वर्षीय शेर मोहमदलाई पक्राउ गरेको हो। उनीहरूबाट ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा रायलाई १ ग्राम ब्राउन सुगरसहित सुनसरीको कोशी गाउँपालिका–१ बाट इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, प्रहरी चौकी हिले, धनकुटाले शहिदभूमि गाउँपालिका–५ का २३ वर्षीय सुवास राईलाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।