काठमाडौं –नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पहल गर्न सुझाव दिएका छन्।
बिहीबार खुमलटारस्थित प्रचण्ड निवासमा दुई घण्टा लामो भेटवार्ताका क्रममा कोइरालाले यो सुझाव दिएका हुन्।
सूत्रका अनुसार भेटमा प्रचण्डले शेखरप्रति जनताको आशा रहेको बताए। तर, उनले शेखरलाई संसदीय दलको नेता नभएको प्रसंग उठाउँदै भने, "कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिँदैन। तपाईं दलको नेता बन्न सक्नु भएन।"
प्रचण्डको भनाइमा जवाफ दिँदै कोइरालाले भने, “पहिला त गठबन्धन सरकार ढाल्नुस्, किनकि प्रमुख प्रतिपक्ष दलको नेता अहिले प्रधानमन्त्री छन्। त्यसपछि मात्रै नयाँ समीकरण, नेताको चयन र सरकार गठनबारे कुरा गर्न सकिन्छ।”
शेखरले कांग्रेस–एमाले गठबन्धन बनाउँदा आफू पनि सक्रिय रहेको बताए। तर, उनले थपे, “सरकार बने पनि जनताले एक वर्षसम्म आशा गर्ने आधार पाएका छैनन्।”
जवाफमा प्रचण्डले सुशासनका लागि आफूले प्रयास गर्दा पनि अवरोध सिर्जना भएको गुनासो गरे।