पाकिस्तान— पाकिस्तानको पञ्जाब प्रान्तमा निरन्तर परेको भीषण वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै तीन सय जना भन्दा बढी घाइते भएका छन्।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार धेरैजसोको मृत्यु भवन भत्किँदा च्यापिएर वा करेन्ट लागेर भएको हो। वर्षाका कारण रावलपिण्डी लगायतका क्षेत्रहरूमा जनजीवन प्रभावित भएको छ र रावलपिण्डीमा सार्वजनिक बिदा समेत घोषणा गरिएको छ।

तीव्र वर्षाका कारण विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने सडक तथा यातायात प्रणाली पूर्ण रूपमा प्रभावित भएका छन्। केही स्थानमा २४ घण्टाको अवधिमा ४ सय मिलिलिटरभन्दा बढी वर्षा मापन गरिएको बताइएको छ।

पञ्जाब प्रान्तमा आपतकाल घोषणा गरिएको छ र उद्धार तथा राहत कार्य जारी छ। सुरक्षाकर्मी, सेना र उद्धार टोलीहरू बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।