इलाम— इलामको सन्दकपुर गाउँपालिका–५, जमुनाका ७६ वर्षे तिलबहादुर गुरुङ आफूले गर्दै नगरेको कसुरमा २० दिन इलाम कारागार बसेका छन् । बिना कसुर २० दिन पछि अन्ततः निर्दोष सावित भएका हुन्। 

गुरुङलाई साउन १ गते बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत इलाम इजलाशले कैदमुक्त गर्न आदेश दिएको छ।

पक्राउ गरेर ल्याइएका गुरुङ र प्रस्तुत घटनाका प्रतिवादी एकै व्यक्ति नभएका कारण उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। प्रहरीले गुरुङलाई असार १७ गते उनकै घर जमुनाबाट पक्राउ गरेको थियो। पक्राउपछि इलाम प्रहरीले फरार दोषीलाई ४५ वर्षपछि पक्राउ गरेको सूचनासमेत जारी गरेको थियो। उनलाई १८ गते इलाम जिल्ला अदालतको कैदपुर्जीअनुसार कारागार चलान गरिएको थियो।

तर, गुरुङका परिवारजनले उच्च अदालतमा रिट दायर गरेपछि उच्चले गुरुङलाई कैदमा पठाउने जिल्ला अदालतको असार १८ को कैदपुर्जी कानुनसम्मत नभएको ठहर गरेको छ। अदालतले कर्तव्य ज्यान मुद्दामा जमुनाका तिलबहादुर गुरुङलाई २०३८ जेठ १२ मा १० वर्षको कैद सजाय फैसला गरेको थियो। तर, पक्राउ व्यक्ति र त्यति बेलाका मुद्दाका प्रतिवादी एकै व्यक्ति नभएको उच्चको ठहरपछि तिलबहादुर बिहीबार थुनामुक्त भएका छन्।

थुनामुक्त भएपछि तिलबहादुरले आफू पक्राउ पर्दा छक्क परेको प्रतिक्रिया दिए। तिलबहादुरका छोराले बुबा निर्दोष भए पनि अन्यायमा परेकाले उच्च अदालतमा रिट दायर गरेको बताए।

जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले अदालतको आदेशअनुसार आफूहरूले फरार दोषीलाई पक्राउ गरी अदालतमा बुझाएको दाबी गरे। उनले फरार दोषीको नामथर, ठेगाना सबै मिलेको र पक्राउ व्यक्तिले पनि आफू नै त्यस घटनामा संलग्न रहेको स्वीकारेकाले अदालतमा उपस्थित गराएको प्रतिक्रिया दिए।