रौतहट– श्री माध्यामिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहलाई एक छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा बर्खास्त गरिएको छ।
गत आइतबार साहले १६ वर्षीया छात्रालाई मोबाइलमार्फत "ह्यापी बर्थडे मेरी जान" भन्दै सन्देश पठाएका थिए। उक्त घटनापछि असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा वडास्तरीय समिति, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको बैठक बसेको थियो। बैठकले शिक्षक साहलाई विद्यालयबाट निष्कासन गर्ने निर्णय गरेको विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासले जानकारी दिए।
अभिभावकहरूको उजुरी अनुसार, साह विगत एक वर्षदेखि यौनजन्य मनसायका साथ छात्रालाई मोबाइल सन्देश पठाउँदै आएका थिए। उनी ४९ वर्षका हुन् र विद्यालयमा कक्षा ७ का विद्यार्थीलाई अंग्रेजी तथा कक्षा ९ का विद्यार्थीलाई सामाजिक विषय पढाउँदै आएका थिए।
सन्देश सार्वजनिक भएपछि विद्यार्थीहरू आक्रोशित भई तोडफोड र कुटपिटमा उत्रिए। प्रहरीले त्यसै दिन साहलाई नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार, साहमाथि ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
एक स्थानीयले बताए अनुसार, साह यसअघि पनि २०६२/६३ सालतिर यस्तै दुर्व्यवहारमा संलग्न भएका थिए र सामाजिक रूपमै सजाय भोगेका थिए। तर कानुनी कारबाही नभएकाले यस्ता व्यवहार दोहोरिएको आरोप लागेको छ।
साह राहत कोटामा निमावि तहका करार शिक्षक थिए। उनीमाथि शिक्षक नियुक्ति प्रक्रिया कानुनविपरीत भएको भन्दै २०७२ मा अख्तियारले बर्खास्त समेत गरिसकेको थियो।
अभिभावक, समाजसेवी तथा विद्यार्थीहरूले साहलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् भने पीडित छात्राको मनोवैज्ञानिक सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        