काठमाडौं— नवलपुरमा गएराति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

हुप्सेकोट गाउँपालिका — ३ भुपती चोकस्थित भित्री सडक खण्डमा गिरुवारीबाट वसन्तपुर तर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

दुर्घटनामा सोही ठाउँकी ३५ वर्षीया इन्दिरा कोइराला र मोटरसाइकल चालक हुप्सेकोट—२ का निशान सिंह ठकुरी घाइते भएको नेपालले जानकारी दिए। कोइरालाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रेफर गरिएको र गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चालक ठकुरीलाई भने स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। ठकुरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको र आवश्यक कागजात पनि नभएको पाइएको प्रहरीले जनाएको छ।