काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व सुम्पिने विषय हाललाई सम्भव नरहेको स्पष्ट पारेका छन्।
पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा सक्रिय भूमिकाको चर्चा भइरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन्।
"अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन," ओलीले भने, "उहाँ राजनीतिमा फर्किनुहुन्छ भनेर पार्टीले न सोचेको छ, न निर्णय गरेको छ। उहाँ पार्टीको जिम्मेवारी छाडेर लामो समय बाहिर बस्नुभयो।"
ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कनेबारे कुनै औपचारिक छलफल भएको छैन, न पार्टीलाई कुनै प्रस्ताव नै आएको छ। "उहाँले पार्टीमा फर्किन के प्रक्रिया अपनाउने भन्ने विषयमा हामीसँग सल्लाह गर्नुभएको छैन," उनले भने।
चीनले नेपाली कम्युनिष्टहरुलाई एकताबद्ध गर्न खोजेको भन्ने प्रश्नमा ओलीले प्रतिक्रिया दिँदै भने, "नेकपा एमाले आफैँमा गोलबद्ध छ। कसको एकताको कुरा हो? म हाइपोथेसिस र हिपोक्रेसीमा विश्वास गर्दिनँ। पुराना गम्भीर गल्ती गरेका नेताहरुलाई फर्काएर पार्टीले के लाभ लिन्छ?"
ओलीले भण्डारी पार्टीको उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रपति बनेको स्मरण गर्दै अहिले उनी पार्टीमा फर्किन चाहे पनि त्यो विषयमा निर्णय पार्टीकै हुनुपर्ने बताए।
"उहाँलाई हामीले नै राष्ट्रपतिमा पठाएका थियौं। उहाँको पुन: सक्रिय राजनीतिमा प्रवेशले समाज, व्यवस्था, र उहाँको व्यक्तिगत जीवनमा के असर पर्छ भन्नेबारे गम्भीर विचार आवश्यक छ। पार्टीले औपचारिक निर्णय गर्नुपर्ने विषय हो," ओलीले जोड दिए।
ओलीले अन्त्यमा भने, "सार्वजनिक रूपमा राजनीति फर्किने कुरा उहाँबाट आएको छ। अब उहाँसँग प्रत्यक्ष संवाद गरेर त्यसको औचित्य र परिणामबारे गम्भीर छलफल गर्नुपर्छ।"