कञ्चनपुर— कृष्णपुर नगरपालिकाले नगरवासीको सुविधा र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ। नगर प्रमुख हेमराज ओझाका अनुसार, आर्थिक तथा व्यवस्थापकीय रूपमा नागरिकलाई सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको हो।

'शव वाहन अभावका कारण नागरिकले निजी सवारी साधनमा शव लैजानुपर्ने बाध्यता हटाउन यो सेवा सुरु गरेका हौं,' प्रमुख ओझाले भने, 'नगरको सामाजिक उत्तरदायित्वअनुसार जनताको दुःखमा साथ दिने हाम्रो प्रयास हो।'

सेवा नगरवासीका साथै छिमेकी पालिकाका बासिन्दालाई पनि निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ। शव वाहनको प्रयोगका लागि नागरिकले सम्बन्धित वडा कार्यालय वा सिधै चालकसँग सम्पर्क गरेर सेवा लिन सक्नेछन्।

नगरपालिकाको वडा नं २ का वडा सदस्य अर्जुन बहादुर साउदले बताएअनुसार, नगरपालिकाले यसअघि पनि एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर तथा विपन्न लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शव वाहन सेवा थपिएसँगै नगरले नागरिकमैत्री सेवा विस्तारमा नयाँ उदाहरण पेश गरेको उनको भनाइ छ।

शव वाहन नगरपालिकाको आन्तरिक आयबाट रु २६ लाख खर्च गरेर खरिद गरिएको हो। सेवा प्रारम्भ भएपछि स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारणले यस कदमलाई सकारात्मक रूपमा लिँदै दुःखद घडीमा राहत मिलेको महसुस भएको प्रतिक्रिया दिएका छन्।