रौतहट – सर्लाही नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका–१, नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको बृन्दाबन नगरपालिका–७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।
उनका अनुसार करेन्ट लागेर दुईजना अचेत भएका छन । ट्रकमै करेन्ट प्रवाह भएर ट्रकमा कार्यरत मजदुर बृन्दाबन नगरपालिका–७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान उनले जानकारी दिए ।
रौतहटबाट न्यू माँ राजदेवी खाद्य उद्योग नवलपुरमा धानको भुस लिन आएको ना. ६ ख ७५५० नम्वरको ट्रकलाई उद्योगभित्र लैजाने बेला ११ हजार भोल्टको तार पन्छाउने क्रममा ट्रकमा सवार मजदुरलाई करेन्ट लागेको हो ।
ट्रकका सहचालक रहेका पासवानलाई उपचारका लागि तत्कालै नमूना अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इन्स्पेक्टर जोहारीले बताएका छन् ।
घाइते पासवान द्वयको नमूना अस्पताल हरिवनमा उपचार भैरहेको लालबन्दी प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।